ओ ! माओ जे दोङ
तिम्रा कविताका हरफहरूमा
अचेल शहीदहरू रून थालेका छन् ।
रगत उमाल्ने
तिम्रा विचारहरू बोक्दाबोक्दा
बूढो भएको कुनै मजदुरजस्तो
जीर्ण शब्दहरूले बुनेको रातो इश्वरमा पनि
अब केवल मुट्ठीभर सास मात्र बाँकी छ
तेसैले बाटोमा हिँड्दाहिँडदै
जतिबेला पनि ढल्न सक्छ
निर्माणाधीन् कुनै टावरबाट
खुट्टा चिप्लेर पनि खस्न सक्छ
कुनै सिकारू डाक्टरका हातबाट
वैधानिक रूपमै मारिन पनि सक्छ
तेसैले, ओ ! माओ जे दोङ
अचेल शहीदहरू रून थालेका छन् ।
हुनान प्रान्तबाट भागेर आएकाहरूले
यहाँ यो बन्दरगाहमा जहाजहरू रोपे
र फलाए यन्त्रहरू जस्तै देखिने मानिसहरू
ती मानिसहरूको छातीभित्र तिमीले तन्काएको
साँस्कृतिक क्रान्ति र लामो परेडका डोबहरू
जो खत बनेर बसेका छन् लहरै
तिहीँनेर पनि शहीदहरू रून थालेका छन्
र हाम्फाल्न थालेका छन् अभिभावकहरू
तिम्रा भाषणहरूको उचाइबाट
अथवा यी अग्लाअग्ला घरहरूबाट
काखीमा छोराछोरी च्यापेर आत्महत्याको छलाङ
र हाम्फाल्न थालेका छन्
तिम्रा तन्नेरी छापामारहरू
पुँजीको समुद्रमा निराशा र अभावको मृत्यु
हृवीलचियरसितै आफ्ना बाआमा अँगालेर
अन्तिम-क्रान्ति ।
हो, माओ जे दोङ !
तिम्रो आरू फुलेको गीतभरि पनि
शहीदहरू खुब रून्छन् रातो आँसु
र बगाउँछन् सिरानीमा जियाङ नदी
साँच्चै, शहीदहरू रून थालेका छन्
त्यो ताइवान, त्यो तिब्बत
त्यो तियानमेन, त्यो इँट्टाभट्टा
त्यो बन्दुकको नालबाट निस्केको राज्यसत्ता
त्यो तिम्रो फर्मेसन, ब्रिगेड र बटालियन
त्यो तिम्रो कमान्डर, मिलिसिया र जासुसहरू
सप्पैसप्पै एकैचोटि रून थालेका छन्
ओ, प्रिय माओ जे दोङ !
यसलाई विद्रोह र अराजकता नभन्नू
यसलाई प्रतिक्रान्ति पनि नठान्नू
हो ! माओ जे दोङ
तिम्रो कविताका हरफहरूमा
अचेल शहीदहरू रून थालेका छन् ।
-हाङयुग अज्ञात (हाल- हङकङ)
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment